बाजुराको बूढीगंगा नगरपालिकामा भाइरसको प्रकोप

  • प्रकाशित मिति : March 30, 2021
  • sthaniyasarkar.com

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको धुरालसैन माध्यमिक विद्यालयका विद्यार्थीमा भाइरस देखापरेको छ । बदलिँदो मौसमका कारण ५ दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको विद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब ताराकुमारी खत्रीले जानकारी दिइन् ।

४ दिनयता दैनिक १५ जना बढी बिरामी हुने गरेको विद्यालयका शिक्षक रमानन्द पाध्यायले बताए । सोमबार मात्रै कक्षा ७ का एकै पटक १० जना विद्यार्थी बिरामी परेका छन् । विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको उनले जानकारी दिए । विद्यालयले बिरामी परेका विद्यार्थीलाई घर पठाइने गरेको जनाएको छ ।

विद्यार्थी बिरामी भएको जानकारी आएपछि नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली  औषधीसहित विद्यालयमा नगरपालिकाको टोली पुगेको छ। ‘त्यहाँको अवस्था बुझ्न र उपचार गर्न स्वास्थ्यकर्मीको टोली पठाएका छौँ,’ गाउँमा समेत रुघाखोकीका बिरामी बढेका छ, नगरप्रमुख दीपकविक्रम शाहले भने ।

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले पनि ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।