नेपालीहरुको अधिकार सङकट् भन्दै :अध्यक्ष प्रचण्ड

  • प्रकाशित मिति : March 24, 2021
  • sthaniyasarkar.com

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्णय आफै गर्न सक्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास गरिएको बताएका छन्।

शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव र हस्तक्षेपमा आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने कुरा स्थापित गरिसकेको बताएका हुन्।

तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए।’

त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताए।

यद्यपि त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए।

त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्डले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ।’

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले अहिले नेपालीहरु निरिह हुन थालेको वा हेपिन थालेको हो कि भन्ने लागेको बताए ।
नेपालीहरुलाई कमजोर बनाउने षड्यन्त्र भएको भन्दै सचेत रहन प्रचण्डले आग्रह गरेका छन्।

उनले भने, ‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी गर्‍यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि ? तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।’