राष्ट्रिय जनगणना २०७८ का लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु

  • प्रकाशित मिति : March 24, 2021
  • sthaniyasarkar.com

राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो। तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए।

तालीम संयोजक केन्द्रीय तथ्यांक विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहका छन् ।उनले विराटनगरमा १० जिल्लाका १७१ र भद्रपुरमा ८५ जनालाई तालीम दिइरहेको बताए।
उनका अनुसार प्रदेशस्तरीय मुख्य प्रशिक्षण तालीम यही चैत ९ देखि १५ गतेसम्म चल्ने, स्थानीय जनगणना अधिकारीलाई चैत १९ देखि २५ गतेसम्म प्रदेशस्तरीय तालीम प्रदान गरिनेछ। तालीम प्राप्त प्रशिक्षक अर्थात् उनीहरुबाट नै सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ सम्म र गणकलाई वैशाख १७ देखि २२ गतेसम्म जिल्लास्तरीय तालीम प्रदान गरिने बताए।

राष्ट्रिय जनगणना २०७८ देशभरका नेपालीको घरदैलोमा निश्चित समयभित्र पुगी सबै घर, अक्सर बसोबास गरेका परिवार तथा व्यक्तिहरूको विवरण संकलन र संकलित विवरण प्रशोधन एवम् प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो। नेपालमा जनगणना १९६८ देखि शुरु भएको हो। विसं २०७८ मा संचालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशको संघीय संरचनापछिको पहिलो जनगणना हो।