मुगु– हुम्ला लिंक रोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि स्थानीय सरकारले बेलीब्रिज बनाउने भएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर १, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौरमा नगरपालिकाले बेलीब्रिज राख्न लागेको हो ।
नगरप्र्रमुख हरिजंग शाहीले यो पुल र पुलसम्म पुग्ने सडकको शिलान्यास गरे । नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेसे्रा चरण (र्याप ३) को प्राविधिक सहयोगमा पुल निर्माण हुनेछ । बेलीब्रिज निर्माणका लागि रविचक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग सम्झौता गरिसकेको कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए । ‘विधिवत रूपमा पुलको शिल्यान्यास गरेका छौँ । अब काम द्रुत गतिमा अघि बढ्छ । नदीमा पानीको बहाव नबढ्दै दुवैतिरका सपोड वाल निर्माण गरिसक्छौँ,’ मल्लले भने ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख शाहीले सदरमुकामको वडा नम्बर १३, १४ र हुम्लाको तल्लो भेगलाई जोड्न पुल राख्ने प्रस्ताव भए पनि साविकको जिविसले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाएर पनि निर्माण अलपत्र पारेका कारण प्रक्रियामा जान कानुनी समस्या परेको बताए ।
कानुनी प्रक्रिया पूरा गरेर पुल नबनुन्जेल अस्थायी भए पनि सहजताका लागि बेलिब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजन गरेको उनले जानकारी दिए । हाल निर्माण हुन लागेको बेलीब्रिज पुल नजिकैको माथिपट्टि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए । अहिले सो बेलीब्रिज उद्घाटनमै सीमित भएको छ ।उद्घाटनकै क्रममा मुख्यमन्त्री शाहीले भनेका थिए, ‘यो पुललाई प्रदेश सरकारले छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी मुगु–हुम्ला लिंक रोड जोड्नेछौँ ।’ तर, पुल निर्माण अगाडि नबढेपछि स्थानीय सरकारले नागरिकको समस्यालाई दृष्टिगत गरी बेलीब्रिज बनाउन लागेको हो । विगतका वर्षमा वारपार गर्दा कर्णाली नदीमा तुइनको सहारा लिनुपथ्र्यो । अब त्यस्तो अवस्था हट्नेछ ।