काठमाडौं । नेकपा एमाले नेपाल समूहले बुधबारदेखि २ दिनसम्म ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ।
अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो। भेला ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुदैछ ।
भेलामा केन्द्रीय सदस्य र जिल्लाका अगुवा कार्यकर्ता गरी देशभरबाट २ हजार भन्दा बढी नेता/कार्यकर्ता उतार्ने आयोजकको दाबी छ । भेला अहिले बिहान ११ बजे उद्घाटन गरिने एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्।
उक्त भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ। यस्तै टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ।
भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने नेता रिजालले जानकारी दिएका छन्।
उता ओली पक्षमा रहेका एमाले महासचिव ईश्वर पोखरेलले भने आजको भेलामा सहभागी हुने नेता/कार्यकर्तालाई कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरी चेतावनी दिएका छन्।
नेपाल पक्षमा रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने आफूहरू कारबाही भोग्न लामबद्ध रहेको प्रतिक्रिया दिएका छन्।
नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ।
त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसका छन्।
त्यसयता नेकपामा विभाजन देखापरेको हो। अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ। यसबाट एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने नेपाल पक्षको योजना छ।
यसबीच अध्यक्ष ओलीको निमन्त्रणमा गत सोमबार पार्टीको केन्द्रीय कार्यालय (धुम्बाराही) मा दुई पक्षबीच वार्ता भए पनि सहमति हुन सकेन। नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओली पक्षले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ।