गाउँपालिकामा आधारभूत स्वास्थ्य चौकी बनाउन जग्गा दान

  • प्रकाशित मिति : March 14, 2021
  • sthaniyasarkar.com

प्युठानको झिमरुक गाउँपालिकाले वडा नम्बर ४ कौछेटारीमा निर्माण गर्न लागेको आधारभूत स्वास्थ्य चौकीका लागि स्थानीयले जग्गा दान गरेका छन् ।

झिमरुक गाउँपालिकाको वडा नम्बर ४ का भीमबहादुर जिसीले २ रोपनी ४ आना र नरेन्द्रबहादुर केसीले ४ रोपनी बढी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि बजेट व्यवस्था गरिएको वडाध्यक्ष सीताराम पोख्रेलले बताए । बहुवर्षीय योजनाको रूपमा रहेको योजनाका लागि लागत अनुमान तयार गरिसकिएको पूर्वाधार तथा भवन नियमन शाखा प्रमुख इन्जिनियर निरज शाहले जानकारी दिए ।

एउटा ल्याब, हलसमेत हुने गरी ४ वटा कोठासहित सुविधा सम्पन्न भवनमा आपांगमैत्री शौचालय निर्माण गरिने इन्जिनियर शाहले बताए ।

 

स्वास्थ्य मन्त्रालयले ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ बजेट पालिकालाई पठाएको छ । भवनको लागत अनुमान र नक्सा तयार भइसकेकाले तत्कालै निर्माणका लागि टेन्डर खोलिनेछ ।

स्थानीय तह भएपछि यो वडामा नयाँ आधारभूत स्वास्थ्य चौकी स्थापना गरिएको गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बताए । उनका अनुसार वाङेफेदीको पुरानो जीर्ण गाविस भवन रहेको आधारभूत स्वास्थ्य चौकीबाट सेवा प्रवाहमा समस्या भएकाले भवन निर्माणपछि सहज हुनेछ ।