ज्येष्ठ नागरिकलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य सेवा

  • प्रकाशित मिति : March 12, 2021
  • sthaniyasarkar.com

काठमाडौँ — ज्येष्ठ नागरिकलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य सेवा दिन सरकारले प्रत्येक प्रदेशका केही अस्पतालमा ‘जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गरेको छ ।हाल स्वास्थ्य मन्त्रालयको ससर्त अनुदानबाट २४ वटा जिल्ला तथा प्रदेश अस्पतालमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिएअनुसारको निश्चित स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

 

कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले हालै जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ समेत पारित गरेको छ । यसअन्तर्गत प्रदेश १ मा ४, प्रदेश २ मा ४, वाग्मतीमा ७ गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा २ वटा स्वास्थ्य संस्थामा यो सेवा दिन थालिएको हो । सरकारले ६० वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनेको छ । उनीहरूको पहिचानका लागि ज्येष्ठ नागरिक परिचयपत्र, वृद्धभत्ता परिचयपत्र, नागरिकतालाई आधार मानिनेछ ।

यस्तै ७० वर्षमाथिका नागरिकको स्वास्थ्य बिमा भएमा बिमा रकमबाटै उपचार गरिनेछ । उक्त रकम अपुग भए मात्र अस्पतालले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्नेछ । निर्देशिकाअनुसार स्वास्थ्य बिमा लागू नभएका जिल्लामा ७० वर्षमाथिकालाई अस्पतालले शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा सेवाको दायरा बढाई उपचारमा छुट दिनुपर्नेछ । तर अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसेर उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा नहुने निर्देशिकामा उल्लेख छ ।