३८६ स्थानीय तहकाे सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी………..

  • प्रकाशित मिति : March 12, 2021
  • sthaniyasarkar.com

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका ३ सय ८६ स्थानीय तहका १ हजार ८ सय ३० वटा वडाले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको जनाएको छ ।

 

७ सय ५३ स्थानीय तहमध्ये यही १ चैतबाट थप १ सय ५९ स्थानीय तहले अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेछ । १ चैतभित्र कम्तीमा ४ सय ९९ स्थानीय तहले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था छ ।

 

देशभर रहेका ६ हजार ७ सय ४३ वडामध्ये अहिलेसम्म २७ प्रतिशत वडाहरूले मात्र बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए ।

 

सरकारले गत २७ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी १ मंसिर २०७८ भित्रमा देशभरका सबै स्थानीय तहले अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनेको छ । सोही राजपत्रमा १ मंसिर २०७८ सम्म कुन–कुन स्थानीय तहले कहिले–कहिलेबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नुपर्ने भनेर उल्लेख गरिएको थियो ।
राजपत्रअनुसार ताप्लेजुङको मिक्वाखोलासहित ७ वटा स्थानीय तहका लागि १ मंसिर २०७८ सम्म बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नुपर्ने हुन्छ ।

 

राजपत्रअनुसार १ चैत २०७७ सम्म ४ सय ९९ स्थानीय तहले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नुपर्ने हुन्छ । साउनबाट मंसिरअगावै २ सय ४७ स्थानीय तह र यो क्रमले १ मंसिर २०७८ भित्र देशभरका सबै स्थानीय तहले अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्नुपर्ने विभागले जनाएको छ ।