काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको शुक्रबार बसेको बैठकले ४ वटा निर्णय गरेको छ।
‘बैठकले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान प्रकट गर्ने निर्णय गरेको छ,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘यससँगै संसदीय दल बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ।’
शुक्रवारको बैठकमा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम, दिव्यमणि राजभण्डारी, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, रमेशजंग रायमाझी, मानबहादुर विश्वकर्मा, पार्वता डीसी चौधरी, सञ्जयकुमार गौतम, गगनकुमार थापा, भीमसेन दास प्रधान, उमा रेग्मी, डा. डिला संग्रौला पन्त, मिना सुब्बा, महेन्द्रकुमारी लिम्बू, हिरा गुरुङ, सत्यनारायण खनाल, देवप्रसाद तिमिल्सिना, मिनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, मोहनप्रसाद पाण्डे, प्रकाश रसाइली स्नेही, प्रमोदकुमार यादव, जीपछिरिङ लामा, तेजुलाल चौधरी, रामबहादुर विष्ट, सुजाता परियार र रंगमती शाहीले बोलेका थिए।
– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई फागुन ११ गते सम्मानित सर्वोच्च अदालतले बदर गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको छ। यो संविधान र लोकतन्त्रवादको विजय हो। न्यायपालिकाको निर्णयलाई नेपाली कांग्रेस संसदीय दल सम्मान गर्दै हार्दिक स्वागत गर्दछ।
– नेपालमा हाल पनि कोरोना भाइरस संक्रमणको प्रभाव रहिरहेको अवस्था छ। कोभिड १९ को संक्रमणबाट आमनागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व हो, त्यसकारण कोेरोना विरुद्धको खोप आमनागरिकलाई यथाशक्य चाँडो लगाइदिने व्यवस्था गरी नेपाली जनताको जीवनरक्षा गर्न सरकारसमक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ।
– कोभिड–१९ संक्रमणको प्रारम्भिक चरणदेखि नै सीमा नाकाहरू बन्द छन्। हालसम्म पनि बन्द नाकाहरू सहज तरिकाले सुचारु हुन सकेको छैन र यातायात सञ्चालनमा आएका छैनन्। जसका कारण उद्योगधन्दा, कलकारखाना र पर्यटन व्यवसायलाई मार परिरहेको छ। तसर्थ सबै नाकाहरू सहज तरिकाले सुचारु गर्नेतर्फ सरकारको गम्भीर ध्यानकर्षण गराउँदछौँ।
– शोक प्रस्ताव पारितः नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी, विक्रम सवत् २०५८ सालका राष्ट्रियसभा सदस्य मेजर दिपक गुरुङ, २०४८ सालमा बाग्लुङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओमकारप्रसाद गौचन, २०४८ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित इन्द्रहाङ लिम्बू, २०५८ सालमा राष्ट्रिय सभामा निर्वाचित गंगादत्त जोशी, २०५६ सालमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित एकनाथ रानाभाट, २०५० सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. शंकरप्रसाद उप्रेती र २०४८ साल सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित कुवेरप्रसाद शर्माको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ। उहाँहरूप्रति श्रद्घाञ्जलि अर्पण गर्दै संसदीय दलको यो बैठक शोक प्रस्ताव पारित गर्दछ।