काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने ‘ग्रिन सिग्नल’ देखिएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस र दाहाल–नेपाल समूह दुवै दलले एकअर्काको विश्वास गर्न सक्ने ठाउँमा शंका पैदा भएको छ। एकातिर कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ।
संसद् बैठक सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। संसद् बैठक सुरु हुनभन्दा चार दिनअघि बुधबार दाहाल–नेपाल समूहले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो। साथै बुधबार केन्द्रीय कमिटी बैठक राखेर नयाँ सरकार गठन गर्ने विषयमा सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको थियो।
बैठकमा प्रधानमन्त्री ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय भएको हो। त्यसै अनुसार कांग्रेससँग सरकारको नेतृत्व गर्न प्रस्ताव राखिएको थियो। दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि खुला छलफल गर्ने बताउनु र देउवाले पनि प्रधानमन्त्रीको अफर आए सरकारको नेतृत्व गर्ने बताएपछि दुवै पक्षबीच सरकार गठनमा सहकार्य गर्ने सहमति बनेको बुझ्न सकिन्थ्यो।