काठमाडौं । सरकार र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेपाल कम्युनिष्ट पार्टीबीचको वार्ताले आजपनि निरन्तरता पाउने भएको छ ।
हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकाले आज पनि वार्तालाई निरन्तरता दिइने सरकारी वार्ता टोलीले जनाएको छ । हिजोको अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो ।
यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गरेका छन् ।
वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेतृत्व गरिरहेका छन् ।
वार्तामा सरकारी टोलीले विप्लव समूहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफूसँग भएको हतियार बुझाउन आग्रह गरेको छ ।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले आजको वार्ता निर्णायक हुनसक्ने बताएका छन् ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन २०७५ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि, नेकपासँग अनौपचारिक वार्ताका लागि सरकारी प्रयास भने जारी नै थियो ।
८ भदौ २०७६ मा तत्कालीन पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन पनि विप्लवसँग संवाद गर्नका लागि थियो । त्यतिबेला पाण्डेले विप्लवका नेताहरू अनिल शर्मा, चिरन पुन र गुणराज लोहनीसँग वार्ता गरेका थिए । विप्लवका प्रतिनिधिसँग अनौपचारिक संवाद भए पनि निचोड भने निस्किएन ।