फिफाको उत्कृष्ट बर्ष खेलाडी अवार्ड मनोनयनमा परेका नाम सार्वजनिक

  • प्रकाशित मिति : December 12, 2020
  • sthaniyasarkar.com

एजेन्सी । विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र पोल्यान्डका रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् । अर्जेन्टिनी कप्तान मेसीले बार्सिलोनाका लागि कुनै उपाधि पनि नजितेको भएपनि उनको व्यक्तिगत प्रदर्शन भने राम्रो रहेको थियो ।

त्यस्तै रोनाल्डोले युभेन्ट्सलाई इटालियन सिरी एको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर समेत घोषित भएका थिए । लेवान्डोस्कीले भने जमर्न क्लब बायर्न म्युनिखमा रहेर निकै सफलता हासिल गरेका थिए । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने उनी सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

त्यसैगरी पुरुषतर्फको उत्कृष्ट गोलरक्षकको उपाधिका लागि लिभरपुलका एलिसन बेकर, एटलेटिको म्याड्रिडका जान ओब्लाक र बायर्नका कप्तान म्यानुएल नोएर छन् । प्रशिक्षकमा लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, बायर्नका हान्स फ्लिक र लिभरपुलका योर्गेन क्लोप मनोनयनमा परेका छन् ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्ज, डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका छन् भने महिला गोलरक्षकका लागि लियोनकी सरह बौहादी, पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर छन् । महिलातर्फ प्रशिक्षकमा चेल्सीकी एम्मा हेअस, लियोनका जेन भासेर र नेदरल्यान्डकी सारिना विग्मन मनोनयनमा छन् ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्डका लागि टोटनहामका सन ह्युङमिन, हाल एटलेटिको म्याड्रिडमा रहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता मनोनयनमा रहेका छन् ।

फिफाले सबै विधाका उपाधि विजेताको नाम डिसेम्बर १७ मा घोषणा गर्ने गोल डट कमले जनाएको छ ।