कांग्रेसको निष्कर्ष : सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय

  • प्रकाशित मिति : December 11, 2020
  • sthaniyasarkar.com

विराटनगर- प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको कांग्रेसको निष्कर्ष छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विप्लव समूहद्वारा शिक्षक हत्यादेखि राजावादीको प्रदर्शनसम्मका घटनाको विषयमा छलफल भएको थियो । सरकारलाई खबरदारी गर्न सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय छ ।

सरकारका गलत कदमविरुद्ध मंसिर २९ गते देशैभरि प्रभावकारी सडक प्रदर्शन गर्ने र त्यसलाई निरन्तरता दिने निर्णय भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले मंसिर २९ को ७७ वटै जिल्लामा हुने सडक प्रदर्शनमा सहभागी बन्न सबै लोकतन्त्रप्रेमी नागरिकलाई आग्रह गरेको जानकारी दिए ।

कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको छ । कांग्रेसले मोरङमा भएको शिक्षक हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै हिंसाको बाटोमा अघि नबढ्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको हो ।

‘मोरङमा बर्बर ढंगले भएको शिक्षक हत्याको विरोध गर्दछौँ, र दोषीलाई कडा कारबाहीको माग गर्दछौँ,’ प्रवक्ता शर्माले भने, ‘व्यक्तिहत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन हाम्रो आग्रह छ ।’ विप्लव समूहले सुराकी गरेको भन्दै मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको सोमबार अपहरणपछि हत्या गरेको थियो ।

सभापति देउवाले आगामी सोमबारको प्रदर्शनको व्यवस्थापनका लागि भनेर बैठक बोलाएका थिए । तर, नेताहरूले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर देखिएको र अरूले त्यसको फाइदा उठाउन खोजेको भन्दै महाधिवेशनको तयारी र सरकारका गलत क्रियाकलापको विरोधका कार्यक्रमलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।